पाल्पा -तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ जागिर छोडेर यो व्यवसायमा लाग्नुभएको हो ।

तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाउनुभएका पन्तले हाल नौ रोपनी जग्गामा माछापालन व्यवसाय गर्दै आउनुभएको हो ।

उहाँको पाँचवटा पोखरीमा सात हजार मूल्य बराबरको माछा छन् । माछा बिक्री गरेर पन्तले एक वर्षमा खर्च कटाएर रु तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ । उहाँको पोखरीमा कमन कार्प ,सिल्भर कार्प, रघु, नैनी, बिगेट जातका माछा छन् ।

पोखरीबाटै प्रतिकिलो रु चार सयमा माछा बिक्री भइरहेको छ । कृषि विकास कार्यालयले व्यवसायका लागि अनुदानमा माछा पोखरी निर्माणमा एक लाख २१ हजार अनुदान, अक्सिजन दिने मेसिन खरिदका लागि रु ६० हजार, दुईवटा जाल र माछाको आहारका लागि दाना सहयोग गरेपछि व्यवसायमा झनै हौसला मिलेको उहाँले बताउनुभयो ।

विभिन्न अवलोकन भ्रमण, तालिममा सहभागी हुनुभएका उहाँले १३ रोपनी जग्गामा माछापालन व्यवसाय गरेर वार्षिक रुपमा रु सात लाख बराबरको आम्दानी गर्ने सोच बताउनुभएको छ ।

सोही ठाउँकै खड्गबहादुर थापाले पनि माछापालन व्यवसाय थालेपछि उहाँको आम्दानी पनि बढ्दै गएको छ ।

सैनिक सेवाबाट अवकाश भएपछि थापाले आफ्नै छ रोपनी जग्गामा माछा पालेर मनग्य आम्दानी गर्दै आउनुभएको हो । माछाबाट एक वर्षमा रु दुई लाख जति जाहो गर्नुहुने उहाँ भन्नुहुन्छ,“लामो समयसम्म देशको सेवक भएर काम गरियो, “ व्यावसायिक कृषक भएर माछापालनमा लाग्दा बल्ल अहिले निकै रमाइलो महसुस भइरहेको छ” ।

त्यस्तै अर्का माछा व्यावसायी बलबहादुर थापा सरकारी जागिर भन्दा यो व्यवसाय नै राम्रो लागेको बताउनुहुन्छ । उहाँले पनि नेपाली सेनाबाट अवकाश भएपछि माछापालन व्यवसाय सुरु गर्नुभएको हो ।

थापा भन्नुहुन्छ,“जागिरे जिन्दगी बन्धनमै बित्छ, घरमै बसेर व्यवसाय गरे स्वतन्त्ररुपमा जीवन जिउन पाइने हुँदा अहिले जागिरे जीवन सम्झेर निकै पछुतो लाग्छ । ”

प्रतिकृया दिनुहोस्