चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै इतिहासको सम्मान र आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष सुझाव दिएका छन् । भरतपुरमा जारी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले रास्वपाको उदय र वर्तमान सफलताका बीच विगतको संघर्षपूर्ण इतिहासलाई नबिर्सन आग्रह गरे ।
थापाले सम्बोधनका क्रममा २०१८ सालको ऐतिहासिक प्रसंग कोट्याउँदै रास्वपाका कार्यकर्ताहरूलाई वर्तमान लोकतान्त्रिक वातावरण शहीदहरूको बलिदानबाट प्राप्त भएको स्मरण गराए । उनले भने, “तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तिमा ५० जनाको शव गाडिएका छन् । उनीहरूलाई २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको थियो । उनीहरूले चार तारे झण्डा उठाउँदै जय नेपाल भनेका थिए तर आफ्ना लागि होइन लोकतन्त्र, तपाईं र हाम्रा लागि ।”
रास्वपाको निलो झण्डा र इतिहासको रगतबीचको सम्बन्ध जोड्दै थापाले अगाडि थपे, “त्यहि कारणले तपाईंले निलो झण्डा फहराउन पाउनु भएको छ । एक पटक झण्डा फहराउँदै गर्दा निलो झण्डा मुनि अलिकति रातो छ । चितवनको जमिनमा पनि त्यो रातो छ । त्यो रातो ती सहिदहरूले लगाएको रातो हो ।”
नयाँ दलहरूले विगतका वर्षहरूमा केही नभएको भनी गर्ने टिप्पणीमाथि विमति राख्दै थापाले भने, “३५ वर्षमा केही भएन नभन्नु होला । पञ्चायतको ३० वर्षका संघर्षका कथालाई अन्डरमाईन पनि नगर्नुहोला ।” उनले रास्वपाले विधि मिचेमा वा शक्तिको अहंकार देखाएमा कांग्रेसले खबरदारी गर्ने समेत प्रस्ट पारे ।
आफ्नो साढे १२ मिनेट लामो भाषणमा थापाले बढी समय आत्मस्विकारोक्ति र सुझावमा खर्चिएका थिए । पार्टीभित्रको सुधार कठिन हुने अनुभव सुनाउँदै उनले भने, “बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं । बाहिर लड्न सजिलो हुने रहेछ आफ्नो घरभित्र लड्न गाह्रो हुने रहेछ । किनकी त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ । यही अनुभवको आधारमा म रास्वपाका तमाम साथीहरूलाई भन्न चाहन्छु भर्खर यात्रा सुरु गर्नु भएको छ, सुशासन तपाईंहरूको मन्त्र छ, तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ ।”
नेतालाई देवत्वकरण गर्ने प्रवृत्तिको विरोध गर्दै उनले रास्वपा कार्यकर्तालाई सचेत गराए, “यसका निम्ति तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन । हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं । बा बनाएर गल्ती गरिसक्यौं । तपाईंले नगर्नु होला । गल्ती गरेका बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौं ।”
उनले अगाडि थपे, “हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौं । हामीले ढिला गर्यौं । त्यसैले सजाय पनि पायौं । तपाईंहरूले त्यसबाट पनि सिक्नु होला । रास्वपाका प्रत्येक सदस्यहरूलाई म भन्न चाहन्छु आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला ।”
जनमत प्राप्त दलहरू सम्हालिन नसक्दा प्रणाली नै जोखिममा पर्ने खतरा औँल्याउँदै थापाले भने, “इतिहासले हामीलाई यो पनि बताएको छ, जुन–जुन बेला जनमत प्राप्त गरेको दल दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन् । त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो । त्यो पार्टी मात्र होइन सँगै रहेका अन्य पार्टी, प्रणाली, लोकतन्त्र र सबैभन्दा बढी नेपाली नागरिक प्रभावित भए । हाम्रो पुस्ता खेर गयो । त्यसकारणले गर्दा रास्वपाले प्राप्त गरेको यो सफलता सही ढंगले अगाडि बढ्नु पर्दछ ।”
निर्वाचनपछि रास्वपा ठूलो दल बनेको सन्दर्भमा थापाले स्वस्थ प्रतिस्पर्धाको कुरा गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन । तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर होइन ।”
अन्त्यमा, थापाले शहीदको सम्मान र वर्तमानको जिम्मेवारी बोध गराउँदै भने, “नीलो झण्डा मुनिको रातो रगतलाई तपाईंले विर्सन पाउनुहुन्न । हामीले पनि विर्सन पाउँदैनौं ।”

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With