मुख्य सामग्रीमा जानुहोस्
गृहपृष्ठ

पुराना साइकलका पार्टपुर्जाबाट बेन होगनले बनाएको कृत्रिम गोडा: विश्वभरका विपन्नका लागि वरदान !

पुराना साइकलका पार्टपुर्जाबाट बेन होगनले बनाएको कृत्रिम गोडा: विश्वभरका विपन्नका लागि वरदान !
२ मिनेट पढाइ
पाठ आकार

अमेरिकाको मिसिगनका पूर्व साइकल मेकानिक बेन होगनले फालिएका पुराना साइकलका पार्टपुर्जाबाट मजबुत र सस्तो कृत्रिम खुट्टा बनाएर विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरणादायी काम गरिरहेका छन्। ‘मेरी फ्री बेड रिह्याबिलिटेसन हस्पिटल’ मा कृत्रिम अङ्ग विशेषज्ञका रूपमा कार्यरत होगनले ‘प्रोजेक्ट बाइक लेग’ मार्फत यो अनौठो अभियान सुरु गरेका हुन्।

उनले आफ्ना सबै डिजाइन र बनाउने विधि कुनै पेटेन्ट नलिई अनलाइनमार्फत निःशुल्क उपलब्ध गराएका छन्, ताकि गरिब तथा विपन्न देशका मानिसहरूले स्थानीय स्तरमै आफ्नै हातले कृत्रिम खुट्टा बनाएर प्रयोग गर्न सकून्।

यो यात्राको बीजारोपण सन् २०११ मा भएको थियो, जब लस एन्जलसस्थित होगनको साइकल पसलमा खुट्टा गुमाएका एक व्यक्ति पुगेका थिए। उनले देखाएको कृत्रिम खुट्टा देखेपछि होगनलाई साइकल र प्रोस्थेटिक्सको मेकानिज्ममा धेरै समानता रहेको महसुस भयो। पछि प्रोस्थेटिक्सको औपचारिक अध्ययन गर्ने क्रममा उनले विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्यांक थाहा पाए, जसअनुसार विश्वभर करिब ८५ देखि ९० प्रतिशत खुट्टा गुमाएका मानिसहरूको महँगो मूल्यका कारण उचित कृत्रिम अङ्गमा पहुँच नै छैन। सामान्यतया बजारमा ७० हजार डलर (करिब ९० लाख रुपैयाँ) सम्म पर्ने कृत्रिम खुट्टा विपन्नका लागि असम्भव सपनाजस्तै थियो। यही अभावलाई चिर्न उनले साइकलका पुराना सामग्रीबाट कम लागतको खुट्टा बनाउने अनुसन्धान सुरु गरे।

होगनले विकास गरेको यस कृत्रिम खुट्टामा ९५ प्रतिशतभन्दा बढी साइकलका पाटपुर्जा प्रयोग हुन्छन्। यसमा खुट्टाको पञ्जा साइकलको सिट र टायरबाट, घुँडाको सन्तुलन चेन र गियर केबलबाट तथा मुख्य खम्बा फ्रेम र स्पोकबाट बनाइन्छ। साइकल मानिसको तौल धान्नकै लागि बनेको मजबुत साधन भएकाले यसलाई थोरै रूपान्तरण गर्दा भरपर्दो र हलुका खुट्टा तयार हुने उनको भनाइ छ। यस मोडलको परीक्षण गरिरहेका सवारी दुर्घटनामा खुट्टा गुमाएका बिरामीहरूले समेत यो सामान्य कृत्रिम खुट्टाजत्तिकै सहज र प्रभावकारी रहेको अनुभव सुनाएका छन्।

व्यापारिक नाफालाई पूर्ण रूपमा त्याग्दै होगनले यसको निर्माण विधिलाई चरणबद्ध भिडियो र तस्बिरसहित आफ्नो वेबसाइटमा सार्वजनिक गरेका छन्। हालै अफ्रिकी देश घाना पुगेर उनले स्थानीय विद्यार्थीहरूलाई यो प्रविधि सिकाएका थिए, जहाँ नौ दिनको तालिममै दुई जना अशक्त व्यक्तिहरूले नयाँ खुट्टा पाएर पुनः हिँड्न सफल भए। आफ्नो यो आविष्कारबाट संसारभरका लाखौँ खाँचोमा परेका मानिसहरूलाई नयाँ जीवन दिन चाहने होगन भन्छन्, “विपन्न देशका अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः हिँडाउने मेरो चाहना हो । हाम्रो काम र पेसा नै संसारका लागि सबैभन्दा ठूलो उपहार हुनुपर्छ, र मलाई लाग्छ— मैले यस संसारलाई दिन सकेको सबैभन्दा ठूलो उपहार यही हो।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →