मुख्य सामग्रीमा जानुहोस्
गृहपृष्ठ

परम्परागत विरासत र नातावादको राजनीति अब अन्त्य हुन्छ: निर्मल रिजाल

परम्परागत विरासत र नातावादको राजनीति अब अन्त्य हुन्छ: निर्मल रिजाल
३ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय कार्यसमिति सदस्य पदका प्रत्यासी निर्मल रिजालले पार्टीमा अब परम्परागत विरासत र नातावादको राजनीति अन्त्य हुनुपर्ने बताएका छन्। जीटिभी नेटवर्कको कार्यक्रम ‘जीटिभी संवाद’मा अन्तर्वार्ता दिँदै नेता रिजालले अग्रजहरूको त्यागलाई सम्मान गर्दै बदलिँदो युगअनुसार पार्टीलाई प्रविधि, युवा र योजनाबद्ध विकाससँग जोड्न ‘कांग्रेस २.०’ को अवधारणा अघि सारेको बताए।

आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई तल्लो तहका कार्यकर्ताहरूको भावनाको प्रतिनिधित्व भएको बताउँदै रिजालले भने, “मेरो उम्मेदवारी मेरो इच्छा वा आकांक्षाले भन्दा पनि कांग्रेसका सहयोद्धा साथीहरू र महाधिवेशन प्रतिनिधिहरूको मागले भएको हो। प्रतिनिधि साथीहरूले ‘अब तपाईंको पालो भयो, तपाईंले पार्टीमा गरेको काम र अनुभवलाई केन्द्रीय कार्यसमितिमा लगेर लागु गर्नुपर्छ’ भनेपछि म चुनावी मैदानमा होमिएको हुँ।”

पार्टीभित्र विरासतको राजनीतिको युग समाप्त भइसकेको प्रस्ट पार्दै उनले भने, “म पार्टीका पूर्वनेता तेजप्रकाश रिजालको छोरो हुँ, तर म तेजप्रकाशको छोरो भनेर मात्र राजनीतिमा आएको होइन। नेपाली कांग्रेस पार्टीमा अब विरासत छैन। मेरो फुपूको छोरो केन्द्रीय समितिमा राखौँ भन्ने परम्परा अब चल्दैन। पार्टीको संशोधित विधानले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरेर वडा र क्षेत्रबाटै निर्वाचित भएर आउनुपर्ने बनाएको छ। यो नै पार्टीको ठूलो रूपान्तरण हो।”

अग्रज नेताहरूको भूमिका र पुस्तान्तरणको बहसबारे बोल्दै उनले अग्रजहरूलाई सम्मान गर्दै नयाँ पुस्ताले हाँक्नुपर्ने धारणा राखे। उनले भने, “शेरबहादुर देउवा, शेखर कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू हाम्रो स्कुल हुन्, गुरु हुन्। उहाँहरूले लडेर ल्याएको प्रजातन्त्रमा आज हामी उभिएका छौं। बाबु-आमा वृद्ध हुँदैमा छोराछोरीले वृद्धाश्रम पठाउने होइन, घरमै राखेर सम्मान र रेस्पेक्ट गर्ने हो।” तर अब पुरानै उपलब्धिका भरमा पार्टी चल्न नसक्ने चेतावनी दिँदै उनले थपे, “इतिहासले मात्र अब काम गर्दैन। २००७ सालमा हामीले यो गर्‍यौँ भनेर अब नेपाली जनताले पत्याउनेवाला छैनन्। अब नयाँ संसार, नयाँ प्रविधि, सोसियल मिडिया र युवाको युग हो। इतिहासलाई सम्मान गर्ने हो, तर हिँड्ने बाटो नयाँ हुनुपर्छ।”

कुराकानीका क्रममा आफूलाई ‘त्यागी नेता’ भनिएकोप्रति खण्डन गर्दै रिजालले आफू त्याग गर्नेभन्दा पनि धरातलमा काम गर्ने सिपाही भएको दाबी गरे। उनले भने, “मैले पार्टीमा त्याग गरेको छैन, म त्यागी नेता होइन, मैले निरन्तर काम गरेको छु। बाल्यकालदेखि नै नेविसंघ हुँदै पार्टीको झण्डा बोकेर हिँडेको छु। विदेशबाट बाकसमा आएका नेपालीका शवहरू विमानस्थलबाट बुझेर आर्यघाट पुर्‍याउनेदेखि एम्बुलेन्स खोजेर गाउँ पठाउनेसम्मका काम मैले गरेको छु।”

आफ्नो सामाजिक र राजनीतिक योगदानबारे थप प्रस्ट्याउँदै उनले भने, “सिन्धुलीमा चुलो नबलेका नागरिकलाई चामल बोकेर पुर्‍याएको छु, चेपाङ बस्तीका स्कुले नानीहरूलाई न्यानो कपडा दिएको छु, काठमाडौंमा अस्पताल धाउन नसक्ने गरिब बिरामीको सारथि बनेको छु। पाँचथरका ६० वटै वडा मात्र होइन, कर्णाली, रुकुम र डोल्पासम्म पुगेर काम गरेको छु। यो मेरो त्याग होइन, मेरो कर्तव्य र काम हो।”

पार्टीको आगामी कार्यदिशा ‘युवा र प्रविधिको फ्युजन’ हुनुपर्नेमा जोड दिँदै इन्जिनियरिङ पृष्ठभूमिका रिजालले भने, “गगन थापाको नेतृत्व र भिजनसँगै कांग्रेसलाई ‘जेन-जी’  र प्रविधियुक्त पार्टी बनाउनुपर्छ। गाउँमा जमिन बाँझो छ, युवाहरू विदेश पलायन भएका छन्। त्यो बाँझोपन उत्खनन गरेर कृषिलाई उर्वर बनाउने र भ्रष्टाचारको जरो उखेल्ने स्पष्ट योजना कांग्रेससँग हुनुपर्छ।”

अन्त्यमा, महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै उनले थपे, “म जादुको छडी देखाएर भ्रमको राजनीति गर्न आएको होइन। मसँग भएको प्राविधिक ज्ञान, अन्तर्राष्ट्रिय अनुभव र संगठनको लामो अभ्यास पार्टी र देशको पक्षमा समर्पण गर्न म केन्द्रीय सदस्यको उम्मेदवार बनेको हुँ।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

गृहपृष्ठ का थप समाचार →