काठमाडौँ । इतिहासले प्रायः ती व्यक्तिहरूलाई सजिलै सम्झन्छ जो मञ्चको अगाडि चम्किन्छन्, तर पर्दा पछाडि बसेर बिनास्वार्थ राष्ट्रिय स्वाभिमानको खाका कोर्ने ‘साइलेन्ट हिरो’ हरू भने समयको अन्तरालमा ओझेल पर्ने गर्छन्।
कुनै समय जब अन्तर्राष्ट्रिय पाठ्यपुस्तक, विश्व मिडिया र हलिउडका चलचित्रहरूमा समेत गौतम बुद्धको जन्मथलोबारे तथ्य तोडमोड गरिन्थ्यो, त्यो बेला सात समुद्रपारि बसेर राष्ट्रिय स्वाभिमानको लडाइँ लड्ने एक नेपाली थिए— प्रेम गुरागाईं। अमेरिकाको क्यालिफोर्नियामा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका गुरागाईंले विदेशी भूमिमा व्यक्तिगत सुख-सुविधा मात्र खोजेनन्, बरु विश्व समुदायमाझ बुद्धको जन्मथलो नेपाल नै हो भनेर स्थापित गराउने ऐतिहासिक महाअभियानको नेतृत्व गरे। आज बुद्धको जन्मथलोबारे विश्वव्यापी बहस चल्दा हामी इतिहास त सम्झन्छौँ, तर क्यालिफोर्नियाको भूमिबाट विश्व हल्लाउने ती योजनाकारलाई भने प्रायः ओझेलमा पार्ने गर्छौँ।
विश्वका दुई सयभन्दा बढी देशका नागरिक बसोबास गर्ने बहुसांस्कृतिक सहर लस एन्जलसमा बस्दा गुरागाईंले एउटा तीतो यथार्थ देखे— त्यहाँ रहेका ४० हजारभन्दा बढी बर्मिज (म्यानमारका) नागरिक तथा थाई र कोरियनजस्ता बौद्ध धर्मावलम्बीहरूलाई समेत ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सत्य थाहा थिएन। यो भ्रम चिर्न उनले क्यालिफोर्नियालाई नै आफ्नो मुख्य कर्मथलो बनाए।
नोबेल पुरस्कार विजेता आङ सान सुचीको अमेरिका भ्रमणका क्रममा हजारौँ विदेशी दर्शक र अन्तर्राष्ट्रिय मिडियाका सामुन्ने उनले मञ्चअगाडि उभिएर ‘बुद्ध वाज बर्न इन नेपाल’ को सन्देश दृढताका साथ प्रस्तुत गरे। त्यति मात्र होइन, अमेरिकी भूमिमै बौद्ध स्तुपा निर्माणको जग बसाल्दै उनले संसारभरका ६७ भन्दा बढी देशबाट लाखौँ हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्रसंघसम्म बुद्धको वास्तविक इतिहास पुर्याउने अन्तर्राष्ट्रिय डिजिटल अभियानको नेतृत्व गरे। गुरागाईंको राष्ट्रभक्ति केवल प्रचारमा मात्र सीमित रहेन, उनले विदेशी भूमिमा नेपाली पहिचानको स्थायी किल्ला नै खडा गरिदिए।
सन् २०१३ मा न्युज २४ टेलिभिजनमार्फत रवि लामिछानेले निरन्तर ६२ घण्टा १२ मिनेट लामो म्याराथन टक-शो चलाएर युक्रेनको कीर्तिमान तोड्दै गिनिज बुकमा नाम लेखाउँदा त्यस महाअभियानको मुख्य नारा नै थियो— ‘लर्ड बुद्ध वाज बर्न इन नेपाल। १०२ जनाभन्दा बढी व्यक्तित्वहरूको अन्तर्वार्ता लिइएको र स्टुडियोबाटै तत्कालीन भारतीय राजदूतलाई समेत ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्न लगाएको त्यो ऐतिहासिक कार्यक्रमको अन्तर्राष्ट्रिय संयोजकका रूपमा सम्पूर्ण विश्वव्यापी व्यवस्थापन गुरागाईंले अमेरिकाबाटै सम्हालेका थिए।
‘श्री पशुपतिनाथ फाउन्डेसन युएसए’ को संस्थापक महासचिव रहेर उनले लस एन्जलस क्षेत्रको नर्वाकमा करिब १० करोड रूपैयाँको प्रारम्भिक लागतमा चर्च र विशाल जग्गा खरिद गरी पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको जग बसाले। क्यालिफोर्नियाका तीन प्रमुख फ्रीवेहरूको केन्द्रमा अवस्थित यो मन्दिर आज अमेरिकामा हुर्कंदै गरेको दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषा, संस्कार र मौलिक चाडपर्वसँग जोड्ने साझा थलो बनेको छ, जहाँ ८५ वर्षका हजुरबुबादेखि १ वर्षका नातिनातिनासम्म एउटै छानामुनि बसेर नेपाली पहिचानको उत्सव मनाउँछन्।
“सङ्कट सामु मुस्काइ हिँड्छु, कहिल्यै हिम्मत हार्दिनँ / बग्छ सधैँ रगतमा मेरो साहस र स्वाभिमान” भन्दै आफ्ना सिर्जनामार्फत राष्ट्रप्रेम पोख्ने गुरागाईंको सोच आजका युवाहरूका लागि गहिरो प्रेरणा हो। “तपाईंसँग जे छैन, त्यो अरूलाई दिन सक्नुहुन्न; त्यसैले पहिले आफैँलाई आफ्नो देश र स्वाभिमानप्रति गर्व हुनुपर्छ” भन्ने उनको स्पष्ट सन्देश छ। देशले के दियो भन्नुभन्दा पनि आफूले देशका लागि के गर्न सकिन्छ भन्ने भावना बोकेर हिँड्ने हो भने कुनै सरकारी पद वा भौगोलिक सीमानामा बाँधिनु पर्दैन, जहाँ रहे पनि मातृभूमिको पहिचानलाई विश्वको शिखरमा पुर्याउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण उनै प्रेम गुरागाईं बनेका छन्।







प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्
लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
वा यसबाट साइन इन गर्नुहोस्