काठमाडौँ । धार्मिक कथावाचिका देवी सुमी मानवले श्राद्ध तथा चाडपर्वहरू सम्पन्न व्यक्तिहरूबीच मात्र भोज खाएर सीमित नगरी खान–लाउन नपाएका र असहायहरूसँग खुसी बाँडेर मनाउनुपर्नेमा जोड दिएकी छन्। पछिल्लो समय श्राद्धकर्मपछि वृद्धाश्रम र अनाथालयमा पुगेर भोजन गराउने सकारात्मक संस्कार विकसित हुँदै गएको भन्दै उनले सबै प्रकारका उत्सवहरूलाई मानवीय सेवासँग जोड्न आह्वान गरेकी हुन्।
एक अन्तर्वार्तामा आफ्ना विचारहरू राख्दै कथावाचिका मानवले भनिन्, “धेरैले आफ्नो घरमा श्राद्ध गरिसकेपछि अहिले श्राद्ध खान जान कसलाई फुर्सद छ र ? बोलाउने फुर्सद पनि छैन, खान जाने फुर्सद पनि छैन। यस्तो अवस्थामा आफ्नो घरमा श्राद्धकर्म गरिसकेपछि आश्रममा रहेका आमाबुबा र छोराछोरीहरूलाई खुवाउने जुन सुन्दर संस्कार अहिले विकसित भइरहेको छ, त्यो निकै प्रशंसनीय छ।”
हाम्रो समाजमा सम्पन्नहरूले सम्पन्नहरूलाई नै भोज खुवाउने प्रचलन रहेको उल्लेख गर्दै उनले विपन्न र भोकाहरूको सेवामा लाग्न आग्रह गरिन्। “हामी भोजमा जान्छौँ, खान पाएकाले नै खान्छौँ। कसले खुवाउँछन् र कसलाई खुवाउँछन् भन्दा— खान पाएकालाई नै खुवाउँछन्,” उनले प्रश्न गर्दै भनिन्, “खानै नपाएकाहरूलाई पनि कहिलेकाहीँ भोज खुवाइदिऊँ न ! त्यसरी पनि त मानवीय सेवामा हात बटाउन सकिन्छ नि त।”
चाडपर्व तथा विशेष अवसरहरूलाई केवल पारिवारिक र आफन्तको घेराभित्र मात्र सीमित नराखी दीनदुःखीहरूसम्म पुर्याउनुपर्ने उनको सुझाव छ। “आजसम्म खान पाएकालाई खुवायौँ, लाउन पाएकालाई लाउन दियौँ। चाडबाड आयो चेलीबेटी र घरपरिवारलाई दियौँ,” उनले आह्वान गर्दै भनिन्, “अब कुनै चाडबाड अनाथहरूसँग मनाइदिऊँ, कुनै चाडबाड असहायहरूसँग मनाइदिऊँ। कुनै विशेष उत्सव तथा अवसरहरू खान नपाएकाहरूसँग गएर मनाइदिऊँ।”
उत्सव भनेको केवल भौतिक वस्तु बाँड्नु मात्र नभई दुःखीहरूको साथमा समय बिताउनु पनि भएको उनको तर्क छ। “कुनै विशेष परिस्थितिहरूमा हामी लाउन नपाएका र केही नभएकाहरूको ठाउँमा गएर बसिदिऊँ, उहाँहरूसँग गफ गरिदिऊँ, उहाँहरूसँगै रमाइदिऊँ,” उनले निष्कर्षमा भनिन्, “यसरी पनि त सच्चा रूपमा उत्सव मनाउन (सेलिब्रेसन गर्न) सकिन्छ नि !”








प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्
लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
वा यसबाट साइन इन गर्नुहोस्