मुख्य सामग्रीमा जानुहोस्
आवाज

पशुपतिनाथ मन्दिर प्रवेश विवादमा सांसद आशिका : ‘थोमस भित्र छिरेका होइनन्, ढोकाबाटै फर्किएका हुन्’

पशुपतिनाथ मन्दिर प्रवेश विवादमा सांसद आशिका : ‘थोमस भित्र छिरेका होइनन्, ढोकाबाटै फर्किएका हुन्’
२ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा ‘गैर-हिन्दु’ प्रवेशको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्षपात र दोहोरो मापदण्डको आरोप लागिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना विदेशी (जर्मन) श्रीमान् थोमस मन्दिरभित्र प्रवेश नगरेको प्रस्ट पारेकी छन्।

गैर-हिन्दुलाई पशुपतिनाथको मूल मन्दिर प्रवेशमा रोक लगाउने नियम आफ्ना श्रीमान्‌को हकमा पनि पूर्ण रूपमा लागु भएको भन्दै उनले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेकी हुन्। आफ्नै देशका एक मुस्लिम युवक मन्दिर क्षेत्रमा पुगेकै कारण पक्राउ पर्दा विदेशी नागरिकलाई भने छुट दिइएको भन्दै उठेको सार्वजनिक प्रश्नको जवाफ दिँदै उनले धार्मिक नियम र मर्यादाको आफूहरूले पूर्ण पालना गरेको बताएकी छन्।

यस विवादको पृष्ठभूमि दुई दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडिओसँग जोडिएको छ। इटहरीका अन्तरधार्मिक दम्पती प्रियंका परियार र उनका मुस्लिम श्रीमान् असिम अन्सारी पशुपतिनाथको भित्री गेटसम्म पुगेको दृश्य बाहिरिएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले मङ्गलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएर बुधबार जहाजमार्फत काठमाडौँ ल्याएको थियो।

पक्राउ परेका दम्पतीले भने आफूहरूको कुनै खराब नियत नरहेको, केवल कौतूहलका कारण मन्दिर क्षेत्र हेर्न मात्र गएको र भित्र छिर्नेबित्तिकै सुरक्षाकर्मीले फर्काएको स्पष्टीकरण दिँदै सोझो मनले भएको गल्तीलाई राजनीतिक र धार्मिक मुद्दा नबनाउन अपिल गरेका थिए।

तर, उक्त दम्पती पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा सांसद आशिका तामाङ र उनका गैरहिन्दु विदेशी श्रीमान् थोमस पशुपति पुगेको विषय चर्को रूपमा उठ्यो। आफ्नै देशका नागरिकलाई प्रहरी लगाएर हतकडी लगाइएको तर गोरो छाला भएका विदेशीलाई पहुँचका आधारमा उन्मुक्ति दिइएको भन्दै राज्य र प्रशासनको विभेदकारी नीतिप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना हुन थाल्यो। कानुन र मन्दिरको नियम सर्वसाधारण र शक्तिमा हुनेहरूका लागि फरक-फरक भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशासनमाथि दोहोरो चरित्र देखाएको गम्भीर आरोप लगाएका थिए।

यही बहसका बीच सांसद तामाङले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आफ्ना श्रीमान्लाई अनावश्यक रूपमा विवादमा तानिएको गुनासो गरेकी छन्। “थोमसलाई यो बुढेसकालमा पनि कति भाइरल बनाइरहनुभएको होला ! पशुपतिनाथको ढोकासम्म मात्रै उहाँ पुग्नुभएको हो, भित्र छिर्ने अनुमति थिएन,” उनले भनेकी छन्।

भारतीय राष्ट्रिय कंग्रेसकी नेतृ सोनिया गान्धीको विगतको सन्दर्भ जोड्दै उनले लेखेकी छन्, “भारतकी कंग्रेस पार्टीकी नेत्री सोनिया गान्धी नेपालको पशुपतिनाथ आउँदा पनि छिर्नलाई अनुमति थिएन भन्ने कुरा मलाई त्यही दिन त्यहाँका सुरक्षाकर्मीहरूबाट थाहा भयो। आफ्नो–आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्मका पनि विधानहरू हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।”

मन्दिर दर्शनका क्रममा भएको घटनाक्रम स्पष्ट पार्दै सांसद तामाङले मूल मन्दिरभित्र आफू मात्र गएको र थोमस बाहिरै प्रतिक्षारत रहेको बताएकी छन्। भित्री भागमा पुगेपछि पुजारीले आफूलाई माला, खादा र टीका लगाइदिएको र थोमसका लागि छुट्टै भाग दिएको उल्लेख गर्दै उनले बाहिर निस्किएपछि मात्र श्रीमान्लाई टीका र माला लगाइदिएको खुलाएकी छन्। यसैबीच, सुरक्षा व्यवस्थामा कमजोरी भएको स्वीकार गर्दै पशुपति क्षेत्र विकास कोषले क्षमायाचना गरेको छ भने परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

आवाज का थप समाचार →