मुख्य सामग्रीमा जानुहोस्
अर्थ

भाइरल स्टन्टले जुम्लाको स्याउ बिक्दैन: व्यापारी हटाएर ग्रेडिङ र गुणस्तरमा ध्यान दिन अनिल रेग्मीको आग्रह

भाइरल स्टन्टले जुम्लाको स्याउ बिक्दैन: व्यापारी हटाएर ग्रेडिङ र गुणस्तरमा ध्यान दिन अनिल रेग्मीको आग्रह
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ ।स्मार्ट कृषि नेपालका संस्थापक अनिल रेग्मीले नेताहरूको दैलो चाहार्दै भाइरल स्टन्ट गर्नुको सट्टा गुणस्तर सुधारमा ध्यान दिन जुम्लाका स्याउ उत्पादक तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकमा सांसदहरूले जुम्लाको स्याउ खाएको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि टिप्पणी गर्दै उनले गुणस्तर र स्वाद नसुध्रेसम्म जुम्लाको स्याउले बजार पाउन नसक्ने धारणा राखेका हुन्।

रास्वपा बैठकको प्रसंग कोट्याउँदै रेग्मीले भनेका छन्, “अहिले जुम्लाको स्याउ रास्वपाको मिटिङमा सांसदहरूले खाए भनेर भाइरल भइरहेको छ, तर भाइरल हुँदैमा केही नापिने होइन। रास्वपाको बैठकमा स्याउ राम्रो भएर प्रमोट गरिएको होइन, नबिकेर बिजोग भएपछि हल्लाखल्ला गरिएको हो।”

गुणस्तर र ग्रेडिङको अभाव नै मुख्य समस्या रहेको औंल्याउँदै उनले भने, “जबसम्म गुणस्तर सुधार हुँदैन र जुम्लामै ग्रेडिङ गरेर पठाउने सिस्टम बन्दैन, तबसम्म रास्वपा वा बालेन (शाह) जसले भने पनि त्यो प्रभावकारी हुँदैन। बालेनले भनेर मान्छेले एक-दुई दिन खाइदेलान्, तर मीठो नभएपछि दुई-चार दिनपछि कसैले किन्दैन।”

मुस्ताङ र मनाङको स्याउसँग तुलना गर्दै उनले अगाडि भने, “मुस्ताङ र मनाङको स्याउ बिकेन भनेको त कहिल्यै सुनिँदैन, बरु अझ महँगोमा सजिलै बिक्छ। उपभोक्ताले रोज्नुको कारण क्वालिटी (गुणस्तर), टेस्ट (स्वाद) र कलर (रङ) हो। यी तीनवटै कुरा स्याउमा चाहिन्छ, जुन जुम्लाको ८० प्रतिशत स्याउमा हुँदैन।” जुम्लामा जस्तो पायो त्यस्तै स्याउ बजार पठाउने प्रवृत्ति बढेको भन्दै उनले त्यहाँ किसानभन्दा व्यापारी हाबी भएको टिप्पणी गरे।

भाइरल भएर दीर्घकालीन बजार नबन्ने चेतावनी दिँदै रेग्मीले स्याउ बोकेर हिँड्ने सहकारीका अध्यक्ष र किसानहरूलाई लक्षित गर्दै भने, “वस्तुमा दम छैन भने त्यो धेरै दिन टिक्दैन। भाइरल भएर क्षणिक बिक्री त बढ्ला, तर लङ-टर्म (दीर्घकाल) मा यसले अर्थ राख्दैन। त्यसैले दैलो-दैलो चाहार्दै नेताहरूलाई स्याउ खुवाउँदै हिँड्नुको साटो आफ्नो स्याउ सुधार्नतिर लाग्नुस्।” उनले किसानहरूलाई ढाडस दिँदै थपे, “किसानहरू स्याउको क्वालिटी सुधार गर्नतिर लाग्नुस्, बेच्ने जिम्मा हामी लिन्छौं।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

अर्थ का थप समाचार →