Skip to content
आवाज

एक समय त यस्तो पुगेको थियो कि एक छाक खाना खानलाई पनि गाह्रो हुन्थ्यो: बृजेश श्रेष्ठ

अपडेट
एक समय त यस्तो पुगेको थियो कि एक छाक खाना खानलाई पनि गाह्रो हुन्थ्यो: बृजेश श्रेष्ठ
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौँ । आजको नेपाली म्युजिक क्षेत्रमा ‘बृजेश श्रेष्ठ’ एउटा स्थापित नाम हो। उनका गीतहरूमा युवापुस्ता झुम्मिन्छन्, करोडौँ भ्युज आउँछन्। तर, यो चमकधमकपूर्ण सफलताको पछाडि १० वर्ष लामो अन्धकार, भोक र अभावको एउटा यस्तो कथा लुकेको छ, जसले जोकोहीको आँखा रसाउन सक्छ।

सफलताको शिखरमा पुग्नुअघि बृजेशको जीवन सहज थिएन। उनले जीविकोपार्जनका लागि फार्मेसी पढ्न सुरु गरेका थिए। तर, घरको आर्थिक अवस्था यति कमजोर थियो कि उनले पढाइलाई निरन्तरता दिन सकेनन्।

“एक समय त यस्तो पुगेको थियो कि एक छाक खाना खानलाई पनि गाह्रो हुन्थ्यो,” बृजेश आफ्ना पुराना दिन सम्झिँदै भन्छन्। परिवारको जिम्मेवारी काँधमा थियो, तर गोजी रित्तो। त्यही अभावले उनलाई विदेश जाने निर्णयसम्म पुर्‍यायो।

गरिबीले थिचेपछि उनले धेरै नेपाली युवाहरूले जस्तै खाडी मुलुक जाने सोच बनाए। उनले साउदी अरब जानका लागि आवेदन पनि दिए। तर, भाग्यले उनलाई अर्कै मोडमा लैजानु थियो। उनी साउदी जानका लागि ‘अण्डरएज’ (कम उमेरको) भए। उमेर नपुगेकै कारण उनी विदेश जान पाएनन्।

त्यो समयको असफलता आज उनका लागि वरदान साबित भएको छ। यदि त्यतिबेला उनी साउदी उडेका भए, आज नेपाली संगीतले ‘ओ मइचा’ जस्तो हिट गीत र बृजेश जस्तो प्रतिभावान कलाकार पाउने थिएन।

बुबाले म्युजिक क्षेत्रमै काम गर्ने भएकाले बृजेशले पनि त्यही बाटो रोजे। सुरुमा उनले धरानमा बसेर म्युजिक प्रोडक्सनको काम सिके। त्यहाँ उनले शरणार्थीहरूका लागि एल्बम बनाएर केही पैसा कमाए, जसले बिरामी आमाको उपचारमा ठुलो मद्दत पुग्यो।

आमा निको भएपछि उनले सपनाको सहर काठमाडौँ छिर्ने आँट गरे। काठमाडौँ आएपछि पनि बसुन्धाराको एउटा सानो कोठामा बसेर उनले कयौँ दिन ‘लिंक’ खोज्दै र झ्यालबाट टोलाउँदै बिताए। उनले सन् २००७-०८ देखि नै संगीतमा काम सुरु गरेका थिए, तर सफलता उनबाट टाढै थियो।

संगीत क्षेत्रमा लागेको ठ्याक्कै १० वर्षपछि मात्र उनलाई संसारले चिन्यो। उनको ‘ओ मइचा’ गीतले व्यवसायिक रूपमा ठुलो सफलता पायो। वर्षा कर्माचार्य सँगको त्यो गीतपछि मात्र मानिसहरूले “यो चाहिँ बृजेश श्रेष्ठ हो” भनेर चिन्न थाले।

बृजेश भन्छन्, “म्युजिकमा म त्यसै छिरेको होइन, यो मेरो लागि लगानी थियो जसले ढिलो गरी भए पनि मीठो फल दियो।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

आवाज का थप समाचार →