काठमाडौं। भर्जिनियाको मनासस पार्कमा एउटा परिवारको सपना चकनाचुर भएको दुई वर्ष बित्दा पनि ममता काफ्ले भट्टको शव फेला परेको छैन। २८ वर्षीया नेपाली नर्स र सानो छोरीकी आमा ममता अन्तिम पटक जुलाई २०२४ मा देखिएकी थिइन्। त्यसपछि उनी हराइन्। र अहिलेसम्म उनको शरीर कतै भेटिएको छैन।
तर शुक्रबार अदालतमा सरकारी वकिलहरूलाई ठूलो झट्का लाग्यो। आफ्नी श्रीमतीको हत्या र शव लुकाएको गम्भीर आरोपमा पक्राउ परेका नरेश भट्टको मुद्दामा न्यायाधीशले ममताले पहिले लगाएका घरेलु हिंसाका धेरैजसो दाबीहरू जूरीलाई सुनाउन नपाइने आदेश दिए।
अदालतका अनुसार अब ममताका दुईवटा भनाइ मात्र प्रमाणका रूपमा प्रस्तुत गर्न सकिनेछ। बाँकी सबै दाबीमाथि सुनुवाइका क्रममा आपत्ति जनाउन सकिनेछ। यो निर्णयले अभियोजन पक्षको रणनीतिमा ठूलो असर पार्ने देखिएको छ।
ममताको परिवार र साथीहरूका लागि यो अर्को पीडादायी क्षण बनेको छ। उनीहरू दुई वर्षदेखि न्यायको आशाले अदालतको ढोका कुर्दै आएका छन्। ममताको शव नभेटिएकाले उनीहरूले अन्तिम संस्कारसम्म गर्न पाएका छैनन्। छोरी अहिले आफ्नी हजुरआमा र मामाको काखमा हुर्कँदै छिन्, तर आमाको न्यानोपन सधैंका लागि हराएको छ।
नरेश भट्टमाथि first-degree mur*der, शव बिगार्ने र लुकाउने आरोप लागेको छ। मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बारम्बार भनेका छन्—शव नभेटिए पनि हजारौं डिजिटल प्रमाणहरू छन्।
“आजकल हरेक कुराको डिजिटल छाप हुन्छ। मानिसहरूले छोड्ने ती प्रमाणहरूले यस्ता मुद्दामा धेरै कुरा बोल्छन्,” लुगोले भनेका छन्। प्रहरीका अनुसार बेडरूम र बाथरूममा ममताको र*गतको डीएनए भेटिएको छ। रेसिप्रोकेटिङ सअमा रगत र कपालका टुक्राहरू फेला परेका छन्। घरमा पानीको असामान्य प्रयोग, फोहोर झोलाहरू बोकेर विभिन्न ठाउँमा फालिएको भिडियो र गुगल सर्चहरू समेत अभियोजन पक्षको हातमा छन्।
सुनुवाइ अक्टोबर ५ बाट सुरु हुँदैछ र कम्तीमा सात हप्तासम्म चल्न सक्ने अनुमान छ। मुद्दाको गम्भीरता र भाषिक आवश्यकतालाई ध्यानमा राख्दै अदालतले सामान्य तीन जनाको सट्टा चार जना अनुवादक राख्न अनुमति दिएको छ। सेप्टेम्बर २५ मा पूर्व-सुनुवाइ हुने तय भएको छ। त्यहाँ PTSD विशेषज्ञ साक्षीले नरेश भट्टलाई भेट्नु पर्ने वा नपर्ने विषयमा पनि छलफल हुनेछ।
ममताको परिवार अझै पनि आशा गर्दै छ—एक दिन न्याय आउनेछ, र छोरीलाई आमाको सत्य थाहा हुनेछ। तर अहिलेका लागि अदालतको यो आदेशले उनीहरूको छातीमा अर्को चोट थपेको छ। शव नभेटिएको यस मुद्दामा डिजिटल प्रमाण र घरेलु हिंसाका भनाइहरू कति प्रभावकारी हुन्छन् भन्ने कुरा अक्टोबरदेखि सुरु हुने सुनुवाइले नै देखाउनेछ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With