सामाजिक सेवा र सुकर्म गर्ने उद्देश्यले वृद्धवृद्धाहरूसँग जन्मदिन मनाउन आश्रम पुगेकी एक महिलाले आफूहरूमाथि आश्रम प्रशासनबाटै ठुलो छलछाम भएको खुलासा गरेकी छन्। ‘फेमोरा कलेक्सन’ सञ्चालन गर्दै आएकी ती महिलाले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै गोकर्णेश्वरस्थित ‘श्री गोकर्णेश्वर उत्तरगया आत्म साधना आश्रम’ ले आफूहरूलाई झुक्याएर ठगी गरेको आरोप लगाएकी हुन्।
गत असार २३ गते आफ्नो जन्मदिनको अवसरमा साथीभाइसँग भोजभतेर गर्नुको सट्टा आश्रमका बुढाबुढीहरूसँग समय बिताउने उद्देश्यले उनी उक्त आश्रममा पुगेकी थिइन्। तर, त्यहाँ पुग्दा उनको अपेक्षा र वास्तविक अवस्था पूर्ण रूपमा फरक पाइएको छ।
दुई दिन अगाडिको तयारी र आश्वासन:
पीडित महिलाका अनुसार उनी जन्मदिनको दुई दिन अगाडि नै आश्रमको प्रक्रिया बुझ्न त्यहाँ पुगेकी थिइन्। “त्यहाँका प्रमुख (हेड) सँग कुरा गर्दा १५–१६ जना बा-आमाहरू बस्नुहुन्छ, ३ जना बिरामी भएर धुलिखेल अस्पतालमा हुनुहुन्छ र बाँकी यहीँ हुनुहुन्छ भनियो,” उनले भिडियोमा भनेकी छन्, “त्यसबेला आश्रम खाली देख्दा उहाँहरूले नजिकैको मन्दिरमा सप्ताह पुराण भइरहेकाले सबै त्यता जानुभएको बताएपछि हामीले विश्वास गर्यौँ।”
आश्रम प्रशासनकै आग्रहमा उनले अघिल्लो दिन नै दाल, चामल लगायतका खाद्य सामग्री पुर्याएकी थिइन्। “बुढाबुढीले सारो चामल खान सक्नुहुन्न, थकाली चामल ल्याइदिनु भनेपछि हामीले उहाँहरूकै रोजाइका सामान किनेर बुझायौँ,” उनले थपिन्।
जन्मदिनको दिन देखियो फरक दृश्य:
जन्मदिनको दिन बिहान ८ बजे नै केक बोकेर पुग्दा पनि आश्रममा कोही वृद्धवृद्धा थिएनन्। सोध्दा पुनः ‘सप्ताह सुन्न गएको’ बहाना बनाइयो। साढे ९ बजेतिर एकाएक केही तन्दुरुस्त उमेरका व्यक्तिहरू आएर ‘केक काटौँ’ भन्दै हतार गर्न थालेको उनी बताउँछिन्।
“मलाई शङ्का लाग्न थाल्यो। अन्ततः ममीहरूको अनुरोधमा ती आएका दाइ र अंकलहरूलाई नै खाना खुवायौँ,” उनले भनिन्, “पछि बुझ्दा त त्यहाँ कोही बा-आमा बस्ने नै रहेनछन्। आश्रमका हेडले अन्तिममा यहाँ बस्ने बुढाबुढी भनेको म र अर्को एउटा बाजे मात्र हो भनेर स्वीकार गरे।”
आश्रमको नाममा बा-आमाहरू देखाएर अनावश्यक सामग्री मगाउने, मनखुसी टीका लगाएर दक्षिणा दिन दबाब दिने तर भित्र कोही पनि नहुने खेल चलिरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत अरूलाई पनि यस्ता ठगीबाट सजग रहन अपिल गरेकी छन्।


लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With