सडकमा गुडिरहेको एउटा स्कुटर, त्यसमाथि साधारण पोसाक र हेल्मेट लगाएका एक चालक। काठमाडौँको व्यस्त ट्राफिक र धूलोमैलो छिचोल्दै यात्रुलाई गन्तव्यमा पुर्याउन सङ्घर्षरत यी चालक कुनै सामान्य व्यक्ति होइनन्, उनी एक उच्च शिक्षित भेटेरिनरी डाक्टर (पशु चिकित्सक) हुन्। उनी हुन् डा. योगेन्द्रराज पन्त, जसले हिजो करोडौँको व्यावसायिक साम्राज्य सम्हालेका थिए, तर आज समयको चक्र र परिस्थितिले उनलाई इनड्राइभ चालकका रूपमा सडकमा ल्याइपुर्याएको छ। यो कथा केवल एक व्यक्तिको उतारचढावको मात्र होइन, यो नेपालका सङ्घर्षशील उद्यमीहरूले भोग्नुपरेको कठोर यथार्थको एउटा ऐना हो।
बागलुङमा जन्मिएका योगेन्द्रको शैक्षिक पृष्ठभूमि सधैँ उत्कृष्ट रह्यो। विद्यालयस्तरको पढाइमा सर्वोत्कृष्ट अङ्क हासिल गरेका उनले रामपुर क्याम्पसबाट पशु चिकित्सा विज्ञानमा स्नातक गरे र एनिमल साइन्समा स्नातकोत्तर सम्मको उच्च शिक्षा पूरा गरे। आफ्नो योग्यताका बलमा उनले देशका प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरूमा आकर्षक तलबमा जागिर खाए। मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका उनको जीवन निकै सुखी र व्यवस्थित थियो।
तर, उनी जागिरमा मात्र सीमित हुन चाहँदैनथे। देशमै उद्यम गरेर अरूलाई रोजगारी दिने अठोटका साथ उनले भेटेरिनरी क्लिनिक, औषधि व्यवसाय र पछि साथीहरूसँग मिलेर करोडौँको लगानीमा दाना उद्योग स्थापना गरे। व्यवसाय यति फस्टायो कि दैनिक लाखौँको कारोबार हुन थाल्यो। उनी समाजमा एक सफल युवा उद्यमीका रूपमा स्थापित भए। रोटरी र लायन्स क्लब जस्ता प्रतिष्ठित संस्थाहरूमा आवद्ध भएर उनले सामाजिक कार्यहरूमा व्यक्तिगत तर्फबाट लाखौँ रुपैयाँ सहयोग समेत गरे।
तर, व्यवसायको त्यो सुनौलो यात्रा सधैँ एकनाश रहेन। कोभिड-१९ को असर र त्यसपछिको देशको आर्थिक शिथिलताले उनको व्यवसायलाई नराम्रोसँग प्रभावित पार्यो। बजारमा कृषक र डिलरहरूलाई दिएको करोडौँको उधारो उठ्न छोड्यो। अर्कोतर्फ, बैंकको ब्याज र कच्चा पदार्थ आपूर्तिकर्ताहरूको ताकेता बढ्दै गयो। उधारो नउठ्ने तर बुझाउनुपर्ने दायित्व बढ्ने चक्रका कारण उनको व्यवसाय विस्तारै संकटमा पर्दै गयो।
ऋणको भार धान्न नसक्ने भएपछि उनलाई बैंकले कालोसूचीमा राख्यो। यति मात्र होइन, कठोर बैंकिङ प्रक्रियाका कारण सरकारी सेवाबाट निवृत्त भएका उनका वृद्ध बुबाको पेन्सन खाता र श्रीमतीको तलब खाता समेत रोक्का गरियो। “बुढेसकालमा बुबाआमाको सहारा बन्नुपर्ने उमेरमा मेरै कारण ७५ वर्षीय बुबाको पेन्सन खाता बन्द हुँदा मन रोएर आउँछ,” डा. योगेन्द्र भावुक हुँदै भन्छन्।
यसैबीच, २ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा उनले प्रहरी हिरासतसमेत भोग्नुपर्यो। हिजो करोडौँको कारोबार गर्ने व्यक्तिलाई २ लाख रुपैयाँकै कारण हत्कडी लगाइँदा उनको आत्मसम्मानमा ठूलो चोट पुग्यो।
आफ्नो सम्पूर्ण सम्पत्ति र जग्गाजमिन बेचेर धेरैजसो ऋण चुक्ता गर्दा पनि उनी पूर्ण रूपमा ऋणमुक्त हुन सकेनन्। यस्तो कठिन परिस्थितिमा घर चलाउन र दुई साना छोरीहरूको लालनपालनका लागि उनले एउटा गम्भीर निर्णय लिए। उनले भिनाजुसँग सहयोग मागेर एउटा दोस्रो हाते (सेकेन्ड ह्यान्ड) स्कुटर किने। श्रीमतीले जेठी छोरीको खुत्रुकेमा जम्मा भएको १५ सय रुपैयाँ स्कुटरमा पेट्रोल हाल्नका लागि उनको हातमा राखिदिइन्।
त्यसपछि सुरु भयो डा. योगेन्द्रको इनड्राइभ यात्रा। हिजोसम्म डाक्टरका रूपमा सम्मान र सल्लाह दिने उनी आज काठमाडौँका सडकमा यात्रु बोक्न थाले। “दिनभरि स्कुटर चलाएर राति ११ बजे घर पुग्दा साढे दुई वर्षकी कान्छी छोरी ढोका खोल्न आउँछिन् र मलाई अङ्गालो हाल्छिन्, त्यतिबेला मेरा सबै पीडाहरू मेटिन्छन्,” उनी भन्छन्।
डा. योगेन्द्रराज पन्त आज पनि हरेस खाएका छैनन्। उनी आफूलाई अ*पराधी वा ठग नभई परिस्थितिको शिकार भएको मान्छन्। उनी भन्छन्, “म आज पनि आफ्नो पेशामा फर्कन र सबैको बाँकी ऋण तिर्न चाहन्छु। म काम गरेरै ऋण तिर्छु, तर मलाई काम गर्न पाउने सहज वातावरण र केही समय चाहिएको छ।”
उद्यमशीलताको यात्रामा हत्कडी र कालोसूचीको सामना गर्नुपरे पनि इमानदारिताका साथ स्कुटर चलाएर जिम्मेवारी पूरा गरिरहेका डा. योगेन्द्रको यो सङ्घर्षले वर्तमान समयका धेरै उद्यमीहरूको पीडा र राज्य संयन्त्रको कमजोरीलाई उजागर गरेको छ। उनी जस्ता सिर्जनशील युवाहरूलाई पलायन हुनबाट जोगाउन राज्य र समाज दुवै संवेदनशील हुन जरुरी देखिन्छ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With