अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भइसकेको छ। समूह चरण सकिँदासम्म अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक पूरा गरेका छन्।
मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमै अल्जेरियाविरुद्ध तीन गोल गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेका थिए। सोही खेलसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए।
त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल थप्दै मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। समूह चरणको अन्तिम खेलमा जोर्डनविरुद्ध दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका उनले एक गोल थपे। यससँगै समूह चरणमा मात्रै ६ गोल गरेका मेसी हाल गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। यसअघि दुई पटक गोल्डेन बल जितिसकेका उनले भने अहिलेसम्म गोल्डेन बुट जित्न सकेका छैनन्।
जोर्डनविरुद्धको गोलसँगै मेसीको विश्वकप गोल संख्या १९ पुगेको छ। साथै उनले लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेर अर्को ऐतिहासिक कीर्तिमान पनि आफ्नो नाममा लेखाए। सन् २०२२ को विश्वकपका अन्तिम चार खेलमा लगातार गोल गरेका उनले यस संस्करणको समूह चरणका तीनै खेलमा पनि गोल गरेका हुन्।
समूह चरणमा अन्य दुई ह्याट्रिककर्ता क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेले हुन्। डेभिडले कतारविरुद्ध तथा डेम्बेलेले नर्वेविरुद्ध ह्याट्रिक गरेका थिए।
गोलकर्ताको सूचीमा मेसीपछि चार–चार गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पे, उसमान डेम्बेले, ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्ड रहेका छन्। हालान्डले पहिलो दुई खेलमा दुई–दुई गोल गरे पनि समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध खेलेनन्।
एमबाप्पेले पनि सुरुआती दुई खेलमा गोल गरे तापनि नर्वेविरुद्ध भने गोल गर्न सकेनन्। यद्यपि उनले दुई असिस्ट गरेका कारण गोल्डेन बुटको प्रतिस्पर्धामा उनको दाबेदारी बलियो देखिएको छ। सन् २०२२ को कतार विश्वकपमा फाइनलमा ह्याट्रिकसहित कुल आठ गोल गर्दै एमबाप्पेले गोल्डेन बुट जितेका थिए।
यता ब्राजिलका भिनिसियस जुनियरले समूह चरणका तीनै खेलमा गोल गर्दै लगातार प्रभावशाली प्रदर्शन गरे। उनी विश्वकपको समूह चरणका सबै खेलमा गोल गर्ने पाँचौँ ब्राजिलियन खेलाडी बनेका छन्। उनले तीनै खेलमा प्लेअर अफ द म्याचको सम्मान पनि हात पारे।
यी पाँच खेलाडीबाहेक जर्मनीका डेनिस उन्डाभले तीन गोल गरेका छन्। सुपर सबका रूपमा मैदान प्रवेश गर्दै उनले दुई खेलमा गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका छन्। यस्तै, स्वीडेनका अलेक्जान्डर इसाक तीन असिस्टसहित प्रतियोगिताका सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका छन्।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With