राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री र अर्थमन्त्री दुवै आ-आफ्नो नैतिक संकटमा रहेको दाबी गरेका छन्। देशको कार्यकारी नेतृत्व तहमा रहेको असमझदारी र कार्यशैलीगत भिन्नताका कारण यो अवस्था सिर्जना भएको उनको विश्लेषण छ।
एक अन्तर्वार्ताका क्रममा विश्लेषक आचार्यले भने, “दुवै आफ्नो-आफ्नो चाहिँ नैतिक संकटमा छन्। प्रधानमन्त्रीलाई अर्थमन्त्री मन नपर्ने होला देखिने गरी, अर्थमन्त्रीलाई प्रधानमन्त्री मन नपर्ने होला। यो मुख्यतः शैलीको कुरा हो।”
आचार्यका अनुसार दुई प्रमुख नेतृत्वबीच आपसी विश्वासको संकट देखिएको छ। प्रधानमन्त्रीले अर्थमन्त्री बिना नै व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्नु सकारात्मक भए पनि त्यसले नीतिगत र व्यावहारिक रूपमा समन्वयको अभाव दर्शाउने उनको तर्क छ। “राज्यका प्रमुख अङ्गहरूबीच जुन स्तरको विश्वास हुनुपर्ने हो, त्यो देखिँदैन,” उनले टिप्पणी गरे।
दुवै नेताहरूको पृष्ठभूमि र कार्यशैली निकै भिन्न रहेका कारण असमझदारी बढेको आचार्यको भनाइ छ। अर्थमन्त्री लामो राजनीतिक तथा व्यावसायिक पृष्ठभूमिबाट आएकाले नियम, कानुन र स्थापित प्रक्रियाअनुसार चल्न खोज्ने स्वभावका छन्। अर्कोतर्फ, युवा उमेरका प्रधानमन्त्रीमा तीव्र गतिमा नतिजा ल्याउने हुटहुटी छ।
तर, प्रधानमन्त्रीको सोही हुटहुटीअनुसार काम गर्न राज्यका पुराना संरचना र संसदीय व्यवस्था तयार नभएको उनले औंल्याए। आचार्यले भने, “प्रधानमन्त्रीमा धेरै चाँडै धेरै कुरा गर्ने हुटहुटी छ। तर उनले पाएका संस्थाहरू र देशको संसदीय व्यवस्था नै उनको जस्तो तीव्र गतिमा काम गर्न तयार देखिँदैनन्।”
यस किसिमको आन्तरिक असमझदारी र समन्वयको अभावले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन र अपेक्षित आर्थिक गति दिन कठिनाइ भइरहेको विश्लेषक आचार्यको निष्कर्ष छ।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With