काठमाडौं । वरिष्ठ चलचित्र अभिनेता शिव श्रेष्ठले अब ‘राजा आऊ देश बचाऊ’ भन्ने नारामा मात्र सीमित नभई राजा आएर देश नै चलाउनुपर्ने धारणा राखेका छन्। काठमाडौंको यल्लो प्यागोडा होटलमा शाही युवा शक्ति नेपालद्वारा आयोजित राजसंस्था पुनर्वहाली सम्बन्धी हस्ताक्षर संकलन कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले राष्ट्रिय अस्तित्व र सार्वभौमिकताको रक्षाका लागि शाहवंशीय राजसंस्थाको नेतृत्व आवश्यक रहेको दाबी गरेका हुन्।
कार्यक्रममा आफ्नो भनाइ राख्दै श्रेष्ठले पृथ्वीनारायण शाहदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको योगदानको स्मरण गरे। उनले भने, “राजा आऊ देश बचाऊ भन्छन्, तर अब राजा आएर देश चलाउनुपर्छ। राजाले देश नबचाएको भए आजसम्म कसले बचाउँथ्यो ? हेर्नुस् न, शाहवंश— जुन पृथ्वीनारायण शाहदेखि अहिलेसम्म देश र नेपाल बचाउने शाहवंश मात्रै हो।”
पूर्वराजा ज्ञानेन्द्र शाह मौन रहेर पनि राष्ट्र रक्षाको पक्षमा उभिएको जिकिर गर्दै उनले थपे, “हाम्रो राजा ज्ञानेन्द्र सरकारले अहिले चुप लागेर बसेर पनि देश बचाइराख्नुभएको छ। यही हो बचाउने भनेको। त्यसैले अब हामी सबै ३ करोड नेपाली जनताले उहाँलाई निवेदन गरेर बिन्ती गरौँ— सरकार, अब देश चलाउनुपर्छ।”
शुक्रबार आयोजित उक्त हस्ताक्षर कार्यक्रममा अभिनेता श्रेष्ठसहित गायक आनन्द कार्की, अभिनेता रमेश उप्रेती, कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, पूजा प्रधान, पूर्व एआईजी तथा कलाकार अर्जुनजंग शाही, सुनिल कटवाल, नारायण प्रधानलगायत एक दर्जनभन्दा बढी कलाकारहरूले राजसंस्थाको पक्षमा सामूहिक हस्ताक्षर गरेका थिए। उनीहरूले देशमा राजनीतिक स्थिरता, राष्ट्रिय एकता र समृद्धिका लागि अभिभावकीय संस्थाका रूपमा राजतन्त्र अपरिहार्य रहेको तर्क गरेका छन्।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काका अनुसार सार्वजनिक व्यक्तित्व तथा नागरिकहरूको समर्थन जुटाउन गत साउन १ गतेदेखि देशभर ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ। राप्रपाका नेता निरञ्जन थापाले हालसम्म करिब ३० लाख हस्ताक्षर संकलन भइसकेको दाबी गरेका छन्। मुलुकमा राजनीतिक अस्थिरता, सुशासनको अभाव, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएको भन्दै राजसंस्था पुनर्वहालीको मागसहित विभिन्न समूहहरूले दबाबमूलक गतिविधि तीव्र बनाइरहेका बेला कलाकारहरूको यस्तो ऐक्यबद्धता सार्वजनिक भएको हो।









प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्
लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
वा यसबाट साइन इन गर्नुहोस्