काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र राज पाण्डेले पार्टीभित्रको गुटबन्दी र नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। एक अन्तर्वार्तामा उनले पार्टीमा अहिलेकै अवस्था रहे आफू राजनीतिबाटै अलग हुनेसम्मको चेतावनी दिएका हुन्।
पार्टीभित्रको आन्तरिक कलहले कार्यकर्तामा निराशा छाएको भन्दै पाण्डेले भने, “मजस्ता धेरै कार्यकर्ताहरूको मन अहिले कांग्रेस पार्टीसँग दुखेको छ, यस्तै हो भने हामीजस्ता कार्यकर्ताहरू भोलि कुनै पनि कार्यालयमा नजाने अवस्था आउन सक्छ।” उनले पार्टी नेतृत्वले कार्यकर्ताको यो निराशा नबुझे कांग्रेसलाई ठूलो घाटा लाग्ने बताए।
संस्थापन पक्ष र इतर समूहबीचको दूरीप्रति लक्षित गर्दै उनले पार्टी धेरै टुक्रामा विभाजित हुन सक्ने चिन्ता गरे। सानेपा र चुनदेवीको विवादले पार्टीलाई कमजोर बनाएको उनको तर्क छ। उनले भने, “पार्टीको यस्तै रवैया र गतिविधि हुने हो भने मन दुखाएर पार्टीबाट अलग्गिनेहरूको सङ्ख्या बढ्न सक्छ, यसले अन्ततः कांग्रेसलाई नै घाटा पुग्नेछ।”
मुख्यमन्त्री पाण्डेले आफू सधैँ विधिको शासन र संस्थागत निर्णयको पक्षमा रहेको दाबी गरे। चुनदेवी जाने विषयमा उनले भने, “जान त म आज पनि चुनदेवी जान सक्छु, मेरा नेताहरू त्यहाँ बसेका छन्। तर आधिकारिक निर्णय त सानेपाबाटै हुन्छ नि।” उनले सरकार सञ्चालनका महत्त्वपूर्ण निर्णयहरू पार्टीको आधिकारिक संयन्त्रबाटै हुनुपर्नेमा जोड दिए।
नेविसंघदेखि ४६ वर्ष कांग्रेसमा बिताएका पाण्डेले पार्टीमा अहिले पद पाउने र जोगाउने खेल मात्रै भइरहेको आरोप लगाए। नेताहरू केवल व्यक्तिगत स्वार्थमा लागेको भन्दै उनले आक्रोश पोखे। उनले भने, “खाली आफ्नै पदको लागि मात्रै, आफ्नो प्राप्तिको लागि मात्रै, पदको लागि मात्रै, आफ्नो लागि मात्रै हो भने त किन बस्ने?”
पार्टीको भविष्य र आफ्नो राजनीतिक सन्न्यासको सम्भावनाबारे उनले भने, “यसैगरी पार्टी दुई–चारवटा चिरा हुँदै जाने हो भने मलाई राजनीतिबाट सन्न्यास नहोला भन्न पनि सक्दिनँ।” उनले नेतृत्वले समयमै नसोचे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने सङ्केत गरे।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With