धरान। जनसहभागिता, दाताको आर्थिक सहयोग र उपमहानगरपालिकाको बजेट साझेदारीमा निर्माण गरिएको धरानको ‘श्रमसंस्कृति पार्क’ छोटो समयमै मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर १३ र २० को सिमानामा बग्ने खहरे खोला किनारमा अवस्थित यस पार्कले नागरिक सहभागितामूलक विकासको सफल अभ्यास प्रस्तुत गर्दै एक वर्षमै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।
उपमहानगरपालिकाको लेखापरीक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार ९ गतेसम्ममा पार्कले कुल १ करोड १९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ। सोही अवधिमा पार्क सञ्चालन, रेखदेख र व्यवस्थापनमा ४४ लाख ८६ हजार १४२ रुपैयाँ खर्च भएको तथ्याङ्क छ। कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघाका अनुसार उपमहानगरपालिकाले पार्कको संरक्षण र व्यवस्थापनलाई निरन्तरता दिँदै आएको छ। उहाँले धरानका सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा पनि स्थानीय बासिन्दाको १० देखि ६० प्रतिशतसम्म श्रम तथा आर्थिक योगदान रहने गरेको जानकारी दिनुभयो।
पार्कभित्र निर्माण गरिएका रक गार्डेन, रोज गार्डेन र गोर्खा चौतारी जस्ता विविध संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन्। पार्क निर्माणमा श्रमदान गर्दै आउनुभएका स्थानीय अभियानकर्मी रसिक लिम्बूका अनुसार विगतमा सुनसान रहने यो क्षेत्र अहिले विशेषगरी बिदाका दिनहरूमा पर्यटकीय चहलपहलले भरिभराउ हुने गरेको छ। आफ्नै प्रत्यक्ष श्रम र सामूहिक प्रयासबाट यति सुन्दर पर्यटकीय स्थल तयार भएको देख्दा स्थानीयबासीमा गर्वको अनुभूति हुने गरेको उहाँले बताउनुभयो।
पार्कको अवलोकनका लागि झापाको बिर्तामोडबाट आउनुभएका रजत बस्नेतले सामाजिक सञ्जालमार्फत यसबारे थाहा पाएर आएको बताउनुभयो। यहाँको शान्त वातावरण र संरचनाहरू उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले यसको थप प्रचारप्रसार गर्न सके धरानको पर्यटन प्रवर्द्धनमा अझ ठूलो टेवा पुग्ने सुझाव दिनुभयो।
यस पार्कले स्थानीय साना व्यवसायीहरूको आर्थिक स्तर उकास्न पनि मद्दत गरेको छ। स्थानीय व्यापारी सजना मगरका अनुसार नागरिकस्तरबाट हुने श्रमदानले सरकारी बजेटको बचत गराउनुका साथै साना पसल, अटो र सफारी चालकहरूको व्यवसाय प्रवर्द्धनमा समेत सहयोग पुर्याएको छ। विकासमा प्रत्यक्ष सहभागिता जनाउँदा नागरिकहरूमा सार्वजनिक सम्पत्तिप्रति अपनत्व र जिम्मेवारीको भावना विकास हुने उहाँको भनाइ छ। धरानले प्रदर्शन गरेको यो जनसहभागितामूलक विकासको ढाँचालाई अझ दिगो र व्यवस्थित बनाउन यसलाई भावनात्मक अभियानमा मात्र सीमित नराखी कानुनी, आर्थिक र संस्थागत दायराभित्र समेट्नुपर्ने आवश्यकता स्थानीय बासिन्दाले औंल्याएका छन्।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With