Skip to content
अर्थ

भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्रीको एक्सन, एक साताभित्र बक्यौता नतिरे बिजुली पानी काटिने

अपडेट
भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्रीको एक्सन, एक साताभित्र बक्यौता नतिरे बिजुली पानी काटिने
१ मिनेट पढाइ
पाठ आकार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रियालाई तीव्रता दिइएको छ। सेज प्राधिकरणले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा तथा सेवा शुल्क बुझाउन अन्तिम निर्देशन जारी गर्दै तोकिएको समयभित्र भुक्तानी नगरे बिजुली र खानेपानी सेवा काट्ने चेतावनी दिएको छ।

बारम्बारको लिखित तथा मौखिक ताकेतालाई अटेर गरिएपछि यो कडा कदम चालिएको भन्दै प्राधिकरणले सरकारी सम्पत्तिको प्रयोग गरी दायित्व पुरा नगर्ने उद्योगहरूलाई अब कुनै पनि बहानामा छुट नदिइने र आवश्यक परे थप कानुनी कारबाहीसमेत अघि बढाउने स्पष्ट पारेको छ।

प्राधिकरणको विवरणअनुसार हाल दुई सूचीमा गरी कुल १ करोड ९४ लाख ६३ हजार रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी छ, जसमा पहिलो सूचीको करिब १ करोड ७७ लाख ६८ हजार रुपैयाँ र दोस्रो सूचीको १६ लाख ९४ हजार रुपैयाँ रहेको छ।

अर्कोतर्फ, सक्रियताका साथ गरिएको असुली अभियानका कारण हालसम्म पहिलो सूचीबाट ६ करोड १४ लाख ५८ हजार रुपैयाँ र दोस्रो सूचीबाट ९ करोड ९५ लाख ९२ हजार रुपैयाँ गरी कुल १६ करोड १० लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन सफलता मिलिसकेको छ।

मन्त्री यादवले व्यवसाय सञ्चालनका लागि सरकारले वातावरण सहज बनाए पनि राज्यको राजस्व समयमै बुझाउनु उद्योगहरूको कानुनी कर्तव्य भएको उल्लेख गरेका छन् भने प्राधिकरणले आगामी दिनमा नयाँ बक्यौता सिर्जना हुन नदिन नियमित अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

अर्थ का थप समाचार →