काठमाडौं। एमाले नेता खिमलाल भट्टराईले बुटवल क्षेत्रमा भएका ठूला विकास निर्माणका कामहरू एमालेकै नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन्। तर, यति धेरै पूर्वाधार विकास गर्दा पनि पार्टीले जनताको मन जित्न नसकेको भन्दै उनले अब गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले यस क्षेत्रको रूपान्तरणमा एमालेको मुख्य भूमिका रहेको उल्लेख गरे। उनले भने, “यो बुटवल चाहिँ चकाचक, यो बुटवल चाहिँ नि युरोप जस्तो हामीले बनाएका छौँ। अहिले ठूल–ठूला जे काम भएका छन्, त्यो जम्मै हामीले गरेको हो।”
उनले भैरहवादेखि बुटवलसम्मको ६ लेन सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा गृह, मुख्य सडक तथा गल्लीहरू, अस्पताल, विद्यालय र क्याम्पस निर्माणको जस एमालेलाई जाने बताए।
विगतमा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधान कार्यान्वयन, नाकाबन्दीको सामना, उत्तरतर्फ नाका खोल्ने र चीनसँग पारवहन सम्झौता गर्नेजस्ता ऐतिहासिक काम भएको उनले स्मरण गरे। तर, यति धेरै काम गर्दा पनि जनता किन सन्तुष्ट भएनन् भन्ने विषय विचारणीय रहेको उनले बताए।
भट्टराईले भने, “हामीले यति काम गर्दाखेरि पनि जनताको मन चाहिँ जित्न सकिएको रहेनछ। के कुराले जनताको मन भाँडियो भन्ने कुरा अब हामीले पत्ता लगाउनुपर्यो।”
पार्टी पराजयको दोष सामाजिक सञ्जालको अल्गोरिदम वा अरूको षड्यन्त्रलाई मात्र दिएर आफूहरू चोखिन नमिल्ने उनले प्रस्ट पारे। उनले थपे, “यो बाह्य कारणले गर्दाखेरि यही अल्गोरिदम, यही दाउपेच र षड्यन्त्रले गर्दा हामी पराजित भयौँ, जनताले भोट त हामीलाई हाल्थे तर भ्रमपूर्ण प्रचारले गर्दा नहालेको हो भन्नेतिर मात्रै गइयो र हामीभित्र कमजोरी छैन भन्नेतिर गइयो भनेदेखि यो गल्ती हुन्छ भन्ने मलाई लाग्दछ।”
नेता भट्टराईले सत्तामा जान चाहने वामपन्थी शक्तिहरूले अब बाह्य कारण मात्र देखाउनुको सट्टा आफ्ना आन्तरिक कमजोरीहरूको खोजी गरी जनताको विश्वास पुनः जित्ने दिशामा लाग्नुपर्ने आवश्यकता औँल्याए।







प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्
लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
वा यसबाट साइन इन गर्नुहोस्