राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्व परिवर्तनको नयाँ बहस सुरु भएको छ। पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेका छन्। पार्टीमा युवा पुस्ताको नेतृत्व स्थापित हुनुपर्ने एजेन्डासहित उनी चुनावी मैदानमा उत्रने तयारीमा लागेका हुन्।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुँदैछ। वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनले पुनः एक कार्यकाल अध्यक्ष बन्ने इच्छा राखे पनि औपचारिक घोषणा भने गरिसकेका छैनन्। यसअघि लिङदेनका मुख्य प्रतिस्पर्धी मानिएका महामन्त्री डा. धवलशम्शेर राणाले हालै पार्टी छाडेपछि लिङदेन निर्विकल्प जस्तै देखिएका थिए। तर, शाहीको उम्मेदवारीले उनलाई नयाँ चुनौती थपिदिएको छ।
गत संसदीय निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका ज्ञानेन्द्र शाहीले राप्रपाको संसदीय उपस्थितिलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले चुनाव नजितेको भए पार्टीले समानुपातिकतर्फ पनि सिट गुमाउन सक्ने र संसदमा राप्रपाको उपस्थिति शून्य हुने जोखिम थियो। शाहीकै नेतृत्वमा हाल संसदमा राप्रपाको भूमिका प्रभावकारी देखिएको छ, जसमा प्रमुख सचेतक खुस्बु वलीको पनि साथ रहेको छ।
पछिल्लो समय शाही र लिङदेनबीचको सम्बन्धमा दरार आएको छ। शाहीले सार्वजनिक रूपमै लिङदेनको नेतृत्व असफल भएको र उनले नेतृत्व हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन्। लिङदेनले आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेपछि शाही असन्तुष्ट बनेर केन्द्रीय समितिको बैठक समेत बहिष्कार गरेका थिए।
स्रोतका अनुसार शाहीले लिङदेनलाई नेतृत्व सुम्पिन प्रस्ताव गरे पनि लिङदेन त्यसका लागि तयार भएनन्। लिङदेनले पार्टीभित्रको अवरोधका कारण आफूले सोचेअनुसार काम गर्न नपाएको भन्दै अझै एक पटक नेतृत्व सम्हाल्ने अडान राखेका छन्। उनले शाहीलाई उमेर मात्र सबै थोक नभएको भन्दै ‘सबै ३६ वर्षका युवा बालेन शाह नहुने’ भन्दै कटाक्ष समेत गरेका छन्। उनले ८० वर्षका डोनाल्ड ट्रम्पको उदाहरण दिँदै अनुभवको महत्त्वमा जोड दिएका छन्।
हिजोसम्म लिङदेनकै समूहमा रहेका शाही ५–६ महिनायता मात्र संस्थापन पक्षबाट टाढिएका हुन्। धवलशम्शेरको बहिर्गमनपछि पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नयाँ रणनीति बनाइरहेका छन्। यदि यी पूर्वअध्यक्षहरूले शाहीलाई समर्थन गरे वा उपाध्यक्ष विक्रम पाण्डेलाई अघि सारे भने लिङदेनलाई चुनाव जित्न कठिन हुन सक्छ। यद्यपि, शाहीले आफू उम्मेदवारीबाट कुनै पनि हालतमा पछि नहट्ने अडान व्यक्त गरेका छन्।

लगइन
प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।
तपाईंको खाता छैन ? गर्नुहोस् ।
साइन अप
आफ्नो इमेल र सुरक्षित पासवर्ड प्रयोग गरेर खाता खोल्नुहोस्।
पहिले नै खाता छ ? गर्नुहोस् ।
Signin With