Skip to content
राजनीति

‘अख्तियारसँग ५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्षै सोधपुछ र सरसल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन शाह

अपडेट
‘अख्तियारसँग ५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्षै सोधपुछ र सरसल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन शाह
१ मिनेट पढाइ
पाठ आकार

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले विगतमा भएका भ्रष्टाचार र सरकारी सम्पत्तिको दोहनमाथि कडा छानबिन हुने चेतावनी दिएका छन् । चितवनमा आयोजित रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै उनले कुनै पनि अनियमितताको अनुसन्धानका लागि सरकार जति समय पनि खट्न तयार रहेको स्पष्ट पारे ।

विगतका गलत कामहरूको फेहरिस्त खोतल्ने संकेत गर्दै प्रधानमन्त्री शाहले भने, “विगतका दिनहरूमा कुनै फट्याइँ भएको छ, सरकारी सम्पत्ति वा सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ र त्यहाँ हामी निहुँ खोज्छौँ ।”

अनुसन्धानको प्रक्रिया र समयसीमाबारे चर्चा गर्दै उनले अगाडि थपे, “त्यहाँ निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन ५ वर्ष गर्छौँ । ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । यसमा कसैले चिन्ता लिनु पर्दैन ।”

प्रधानमन्त्री शाहले आफ्नो सरकारले कुनै पनि काम नियम र कानुनभन्दा बाहिर गएर नगर्ने दाबी गरे । “हामी नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ । हाउभाउ हेर्दा अलिकति अनियन्त्रित देखिएला, तर त्यो देखिएको मात्र हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन,” उनले भने ।

पार्टीको चरित्रबारे बोल्दै उनले रास्वपा प्रतिशोध साध्ने नभई विकास र काम गर्ने पार्टी भएको बताए । उनले सुकुम्वासी र सहकारी जस्ता दशकौँदेखिका समस्याहरूलाई यही कार्यकालमा समाधान गरेर छोड्ने र अर्को चुनावमा नयाँ एजेन्डाका साथ जनतामा जाने उद्घोष समेत गरे ।

राष्ट्रियताको सवालमा बोल्दै उनले कालापानी र लिपुलेक नेपालकै भएको र त्यसका लागि आवश्यक प्रमाणहरू सुरक्षित रहेको बताए । उनले सीमाका विषयमा छिमेकी मुलुकहरूसँग प्रमाणकै आधारमा सम्वाद गरिने र आफ्नो भूमि फिर्ता ल्याइने दृढता व्यक्त गरे ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुटबन्दी नगर्न र जनताको मन जितेर मात्रै नेता बन्न सुझाव दिए । “राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ, कुनै समूहको मायाले मात्र पुग्दैन,” उनले थपे, “गुटबन्दीको बिउ अहिले नै नरोप्नुहोस्, जुन पछि गएर रुख बनोस् र आफैँले फाँड्नु परोस् ।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

Signin With

सम्बन्धित खबर

राजनीति का थप समाचार →