मुख्य सामग्रीमा जानुहोस्
राजनीति

‘अख्तियारसँग ५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्षै सोधपुछ र सरसल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन शाह

‘अख्तियारसँग ५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्षै सोधपुछ र सरसल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन शाह
२ मिनेट पढाइ
पाठ आकार

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले विगतमा भएका भ्रष्टाचार र सरकारी सम्पत्तिको दोहनमाथि कडा छानबिन हुने चेतावनी दिएका छन् । चितवनमा आयोजित रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै उनले कुनै पनि अनियमितताको अनुसन्धानका लागि सरकार जति समय पनि खट्न तयार रहेको स्पष्ट पारे ।

विगतका गलत कामहरूको फेहरिस्त खोतल्ने संकेत गर्दै प्रधानमन्त्री शाहले भने, “विगतका दिनहरूमा कुनै फट्याइँ भएको छ, सरकारी सम्पत्ति वा सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ र त्यहाँ हामी निहुँ खोज्छौँ ।”

अनुसन्धानको प्रक्रिया र समयसीमाबारे चर्चा गर्दै उनले अगाडि थपे, “त्यहाँ निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन ५ वर्ष गर्छौँ । ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । यसमा कसैले चिन्ता लिनु पर्दैन ।”

प्रधानमन्त्री शाहले आफ्नो सरकारले कुनै पनि काम नियम र कानुनभन्दा बाहिर गएर नगर्ने दाबी गरे । “हामी नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ । हाउभाउ हेर्दा अलिकति अनियन्त्रित देखिएला, तर त्यो देखिएको मात्र हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन,” उनले भने ।

पार्टीको चरित्रबारे बोल्दै उनले रास्वपा प्रतिशोध साध्ने नभई विकास र काम गर्ने पार्टी भएको बताए । उनले सुकुम्वासी र सहकारी जस्ता दशकौँदेखिका समस्याहरूलाई यही कार्यकालमा समाधान गरेर छोड्ने र अर्को चुनावमा नयाँ एजेन्डाका साथ जनतामा जाने उद्घोष समेत गरे ।

राष्ट्रियताको सवालमा बोल्दै उनले कालापानी र लिपुलेक नेपालकै भएको र त्यसका लागि आवश्यक प्रमाणहरू सुरक्षित रहेको बताए । उनले सीमाका विषयमा छिमेकी मुलुकहरूसँग प्रमाणकै आधारमा सम्वाद गरिने र आफ्नो भूमि फिर्ता ल्याइने दृढता व्यक्त गरे ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुटबन्दी नगर्न र जनताको मन जितेर मात्रै नेता बन्न सुझाव दिए । “राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ, कुनै समूहको मायाले मात्र पुग्दैन,” उनले थपे, “गुटबन्दीको बिउ अहिले नै नरोप्नुहोस्, जुन पछि गएर रुख बनोस् र आफैँले फाँड्नु परोस् ।”

तपाईंको प्रतिक्रिया

यो समाचार कस्तो लाग्यो?

प्रतिक्रिया दिन लगइन वा साइन अप गर्नुहोस्

लगइन

प्रतिक्रिया दिन लगइन गर्नुहोस्। खाता खोल्न समस्या भए पासवर्ड बिर्सनुभयो? थिच्नुहोस्।

तपाईंको खाता छैन ? गर्नुहोस् ।

वा यसबाट साइन इन गर्नुहोस्

सम्बन्धित खबर

राजनीति का थप समाचार →